२०८१ असोज १९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चप्पलमै दौडिने १३ वर्षीय सफल राई, छैन जुत्ता किन्ने पैसा


बिर्तामोड, असार २२ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का १३ वर्षीय सफल राई एथलेटिक्समा औधी रुचि भएका नवोदित खेलाडी हुन् ।

तर, उनमा एउटा अभाव भने सधैँ दौडको बाधक बनिरहेको छ । सानै उमेरमा खुला दौडमा सहभागी भइरहेका उनी अधिकांश प्रतियोगितामा चप्पलमै दौडिन बाध्यय छन् ।

आर्थिक रूपमा विपन्न सफल जुत्ता किन्ने पैसा नहुँदा असार २१ गते चप्पलमै झापा दमकदेखि केर्खास्थित सहिद गेटसम्मको १० किलोमिटर दूरी पार गरे । खुला दौड प्रतियोगितामा पुरुषतर्फ उनी सहभागीमध्येकै सबैभन्दा कान्छा प्रतिस्पर्धी थिए ।

‘दौडँदै गर्दा कति ठाउँमा त चप्पल चिप्लिएर गाह्रो भो । जुत्ता भएको भए अलिक राम्रो गर्न सक्थेँ,’ उनी भन्छन्, ‘दिदीकोमा गएपछि दाइ (प्रशिक्षक प्रशान्त राई)ले नै सहयोग गर्दै आउनुभएको छ । दमकसम्म पनि उहाँले नै ल्याउनुभएको हो ।’

आमाको निधनपछि सफललाई आर्थिक समस्याले गाँज्यो । गरिबीले विद्यालय जान सक्ने अवस्था नभएपछि सफलकी दिदीले उनलाई उदयपुरबाट आफ्नै घर भोजपुर रामप्रसाद राई गाउँपालिका–७ मा लगिन् ।

आफन्त प्रशान्त राई एथलेटिक्सका जिल्लास्तरीय प्रशिक्षक हुन् । एक वर्षदेखि उनी प्रशान्तसँग प्रशिक्षण लिइरहेका छन् । एक वर्षको यो अवधिमा उनले विभिन्न प्रतियोगितामा भाग लिए ।

तर, गरिबीकै कारण उनीसँग खेलकुद सामग्रीसमेत छैन । खेलकुद सामग्रीबिना नै पनि उनी दौडिरहेका छन् । र, दौड पूरा गरिरहेका छन् ।

शुक्रबार मानवहित संरक्षण मञ्च नेपालको आयोजना र अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा दमकमा भएको खुला सडक दौड प्रतियोगितामा उनी चप्पलमै सहभागी भए ।

त्यसअघि बुधबार मात्र मोरङमा आयोजना भएको मदन भण्डारी सडक दौड प्रतियोगितामा पनि उनी यसरी नै चप्पलमै दौडिएका थिए । त्यहाँ पनि सफलले पाँच किलोमिटर दूरी सहजै पार गरे ।

उनलाई एथलेटिक्सतर्फ आफ्नो नाम विश्वसामु चिनाउने रहर छ । तर, आर्थिक अवस्था नै बाधक बन्ने हो कि भन्ने डर छ । दौडिएर देशको नाम राख्ने मन छ ।

प्रशिक्षक प्रशान्तले सफललाई खेलमा उत्साहित गरिरहेका छन् । पूर्वमा हुने विभिन्न प्रतियोगितामा उनलाई सहभागिता गराइरहेका छन् । दमकमा उनी उत्कृष्ट दसमा पारे भने झन्डै ४० मिनेटमा दूरी पार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer