
बिर्तामोड, साउन १ । कचनकवल गाउँपालिकाले इस्लाम अनुयायीहरूको धार्मिक आस्थालाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८०–८१ मा विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरेको छ ।

कचनकवलका विभिन्न वडाहरूमा पाँचवटा इदगाह निर्माण र मृत्युपछि कबरिस्तानसम्म लैजान प्रयोग गरिने १७ वटा ताबुद १७ वटा बस्तीहरूमा वितरण गरिएको छ । साथै, दुईवटा मस्जिद पनि निर्माण गरिएको छ ।

कचनकवलको कुल जनसंख्या ४२ हजार ९१२ जनामध्ये ९ हजार १ मुस्लिम धर्मावलम्बी रहेका छन् । यस गाउँपालिकामा इस्लाम धर्मावलम्बीहरू दोस्रो ठूलो समुदायको रूपमा रहेका छन् ।
कचनकवल–५ को नयाँहाट, डाँगाबारी, बडझोडा, कचनकवल–३ को बडकेचनालगायत पाँच स्थानमा इदगाह निर्माण गरिएको हो ।
त्यस्तै, कचनकवल–३ र कचनकवल–४ मा मस्जिद निर्माण गरिएको छ । यसले यहाँका मुस्लिम समुदायको धार्मिक जीवनलाई थप सहज र समृद्ध बनाउने विश्वास गरिएको छ ।