बिर्तामोड, साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
२८ वर्षीय खतिवडाले साउन ११ गते सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गरेर महायज्ञ हुन लागेको भन्दै सहभागिताका लागि आह्वान गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले खतिवडालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले सोमबार पक्राउ गरेको हो ।
उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ ।
एसपी अधिकारीले भने उनलाई विद्युतीय अपराधअन्तर्गतको कसुरमा पक्राउ गरिएको बताए । केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै अनुष्ठान गर्ने बताएका थिए ।
‘देशमा खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको पूजा गर्ने निर्णय गरेको छु,’ उनले भनेका थिए । यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।