२०८२ कात्तिक २८ शुक्रबार
Jhapa Today
Adv top

मनसुनी वायु र तापक्रमले दिउँसो घाम, राति वर्षा


बिर्तामोड, साउन १६ । केही दिनयता दिउँसो घाम लाग्ने तथा राति–राति पानी पर्ने भइरहेको छ । राति भारी वर्षा हुँदा विभिन्न नदीहरूमा बाढी आउनुका साथै डुबान पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज पुडासैनीका अनुसार यो प्रक्रिया मनसुनी वायु र तापक्रमका कारण सिर्जना भएको हो । हाल मनसुनको न्यून चापीय प्रणाली सरदरको आसपासमा रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेको पुडासैनी बताउँछन् ।

‘बङ्गालको खाडी र हिन्द महासागरबाट जलवाष्पयुक्त (पानीसहितको) हावाहरू आइरहेको छ । मनसुनको बेलमा समान्यरुपमा जलवाष्पयुक्त हावाहरू बढी हुन्छ,’ उनी भन्छन्, ‘राति नै पानी बढ्नुको कारण चाहिँ त्यतिबेलाको तापक्रमले हो ।’

दिउँसोको तुलनामा राति तापक्रम कम हुने, कम तापक्रम भएपछि वायुमा जलवाष्प बहन गर्ने क्षमता कम हुने र यसले कन्डेन्सेसन भएर बादलहरू बन्ने क्रमलाई थप सहयोग गर्ने उनको भनाइ छ ।

‘बादल बनेपछि वर्षा हुने कुरा स्वाभाविक भयो । तापक्रम कम भएपछि ह्युमिडिटी (आर्द्रता) पनि बढ्न जान्छ । त्यसले पनि पानी पर्न मद्दत गर्छ’, उनले भने ।

उनका अनुसार आज राति पनि यस्तै प्रक्रिया जारी रहने सम्भावना छ । यो प्रक्रिया थप तीन दिनसम्म रहने उनको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

-रातोपाटीबाट

Adv footer