मेचीनगर, साउन १६ । झापाको मेचीनगर नगरपालिकाले साउन १ गतेदेखि लागु गरेको पूर्वाधार उपयोग सेवा शुल्कको असुली स्थगन गरेको छ ।
अर्को निर्णय नभइञ्जेलका लागि ‘पटके सवारी कर’ को नामले चिनिने यो कर असुली कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सार्वजनिक सूचना जारी गरेको सूचनामा भनिएको छ, ‘दिइएको दररेटभन्दा फरक दररेटमा तथा तोकिएको स्थानभन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको भन्ने जनगुनासोलाई मध्यनजर गरी हाललाई शुल्क असुली स्थगन गरिएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’
नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी आवश्यक निर्णय लिइने उक्त सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले आन्तरिक आयतर्फको धाइजन, धुलाबारी, इटाभट्टा चोकउत्तर दक्षिण र काँकरभिट्टा बर्मेली चोकउत्तर पूर्वाधार उपयोग सेवा शुल्क दैनिक असुली स्थगन गरेको हो ।
रकम असुलीको ठेक्का पाएको मेचीनगरको ॐ बाठौँ निमार्ण सेवाले सम्झौताविपरीत कार्यादेशमा दिइएको दररेट भन्दा फरक दररेटमा तथा तोकिएको स्थानमा भन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको गुनासो बढेपछि उक्त कार्य स्थगन गरिएको हो ।