२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

साउन २२ र २३ गते अत्यधिक वर्षाको सम्भावना


बिर्तामोड, साउन २१ । जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी साउन २२ र २३ गते देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको छ ।

अहिले पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको मनसुन न्यूनचापीय रेखा मंगलबारबाट नेपालनजिक सर्ने सम्भावना देखिएको विभागले जनाएको छ ।

न्यूनचापीय रेखा नेपालतिर सरेसँगै वायुको चापका कारण जलवाष्प बोकेका बादल नेपालतिर सोहरिन्छन्, जसले गर्दा पानी पर्छ ।

विभागले ३५ जिल्लामा अत्यधिक पानी पर्न सक्ने भएकाले जोखिमको सम्भावना औँल्याएको छ । ती जिल्लामा प्रतिकार्यका लागि तयार रहन भनिएको छ ।

ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोर्खा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा अत्यधिक पानी पर्ने जोखिम छ ।

मंगलबार र बुधबार देशभरिको आकाशमा साधारणतयादेखि पूर्णतया बादलले ढाकेर अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस अवधिमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको विभागले जनाएको छ ।

विभागले ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer