बिर्तामोड, साउन ३१ । मोफसलको फुटबलमा सक्रिय झापाली क्लब बिर्तामोड युनाइटेड एफसी महिला टिमका तीन खेलाडीहरुले भुटानको शीर्ष महिला लिग खेल्ने भएका छन् ।
बिर्तामोड युनाइटेडबाट स्थानीय फुटबल, कोशी प्रदेशस्तरीय फुटबल हुँदै नेपालको राष्ट्रिय युथ टोलीबाट खेलिसकेका तीन खेलाडीहरु खुश्मा राई, जेनिफर राना र सुशीलाकुमारी चौधरीले भुटानको राष्ट्रिय महिला लिग खेल्ने भएका हुन् ।
यी तीनै खेलाडीहरुलाई ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबले जारी सिजनका लागि अनुबन्ध गरेको हो । हाल दुई खेल खेलिसकेको ट्रान्सपोर्ट युनाइटेड एक जित र एक बराबरीसहित ४ अंकका साथ लिग तालिकाको तेस्रो स्थानमा छ ।
सोही अवसरमा एक कार्यक्रमका बीच तीन खेलाडीहरुलाई विदाईसमेत गरिएको छ । सो अवसरमा बिर्तामोड युनाइटेडका अध्यक्ष भुपेन लिम्बु, बिर्तामोड युनाइटेडकै पूर्वअध्यक्ष नरेन लिम्बु, क्लबका महासचिव सन्तोष राई तथा झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेतलगायतले बधाई र शुभकामना दिँदै विदाई गरेका थिए ।