बिर्तामोड, भदौ २६ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको कार्यालय नयाँ भवनमा स्थानान्तरण गरिएको छ । आज खेलकुद विकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गरेका हुन् ।
मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको पहलले बोर्ड नयाँ भवनमा स्थानान्तरण गर्न सकिएको बताए ।
राईले कर्णली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नयाँ भवनबाट सञ्चालन गर्ने जानकारी दिए ।
खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डले नयाँ भवनबाट सेवा प्रवाह गर्ने बताए ।
बस्नेतले बोर्डका अध्यक्ष र प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको साथ र सहयोगले नयाँ भवनमा कार्यालय स्थानान्तरण गर्न सफल भएको बताए ।
यसअघि विराटनगर महानगरपालिका शनिहाटमा रहेको भाडाको भवनबाट हाल विराटनगरस्थित नापी कार्यालयअगाडि रहेको मोरङ जिल्ला खेलकुद विकास समितिको साविकको कार्यालयमा बोर्ड स्थानान्तरण गरिएको हो ।