बिर्तामोड, असोज २५ । झापाको मेचीनगरस्थित सतीघट्टादेखि बाहुनडाँगी हुँदै तिरिङसम्मका नाकाहरूबाट खुलेआम तस्करी हुने गरेको छ ।
सो नाकाहरूबाट ठुलो परिमाणमा चाइनिज लाइटर, सुख्खा सुपारी, लसुन भारत निकासी भइरहेको छ भने लत्ताकपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल पार्टस्, इलेकट्रोनिक्सदेखि खाद्यान्न सामग्रीहरू भन्सार छलेर दिनहुँ नेपाल भित्रिरहेको स्रोतको दाबी छ ।
प्रहरीकै सेटिङमा भारत निकासी हुन लागेको सुक्खा सुपारी र चाइनिज लसुन सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणबाट इन्स्पेक्टर दिवस न्यौपाने नेतृत्वमा खटिएको एलआरपीको टोलीले बुधबार साँझ ५ बजेर १० मिनेटमा बरामद गरेको थियो ।
मेचीनगर–६ काँकरभिट्टास्थित मेचीडाँडामा भारत लैजाने प्रयास गर्दै गरेको लसुन र सुपारी सशस्त्रले बरामद गर्न खोज्दा विवाद भएको थियो ।
सशस्त्र स्रोतका अनुसार कुमार लिम्बू भान्जाको गोदामबाट दुईवटा सिटी सफारीमा सुपारी र लसुन लोड गरी मेचीडाँडा पु¥याएर अनलोड गरिरहेका थिए ।
त्यही बेला गणको एलआरपी टोली त्यहाँ पुगेपछि सिटी सफारी चालकहरू सामान छाडेर भागेका थिए ।
सो सामान सशस्त्रले बरामद गर्न खोज्दा त्यहाँका स्थानीयहरूले सशस्त्रमाथि हातपात गर्न खोज्दा विवाद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका एसपी कविन्द्र राईले जानकारी दिए ।
सशस्त्रमाथि छुरा हान्न खोज्दा विवाद भएको विषयमा जिज्ञासा राख्दा एसपी राईले भने, ‘महिलाहरू हातपात चाहिँ गर्न खोजेको हो, भीडमा अरू केके भयो त्यो रिपोर्टिङ आफूलाई प्राप्त भएको छैन ।’
सामान बरामद गरी सशस्त्रले ल्याएको उनले बताए । सशस्त्रले डेढ लाख मूल्य बराबरको सामान बरामद गरेको थियो ।
चाइनिज लाइटर, सुख्खा सुपारी, लसुनको काम गर्नेहरू जिरे लिम्बू, राम राई, कुमार लिम्बू, अम्बर पराजुली, उमेश श्रेष्ठ, राजन खड्का, रञ्जीत कट्टेल र श्याम थापा रहेका छन् ।
‘उनीहरू सबै मिलेर दिनमा तीनदेखि चार कन्टेनरसम्म काम गर्दो रहेछ,’ स्रोतले भन्यो, ‘काम गरेबापत मासिक ५० हजारदेखि चार लाखसम्मको लाइन खर्च तिरेको रहेछ ।’
मेचीडाँडामा दिनभरि सुपारी, लसुन र लाइट ल्याएर थुपारिन्छ । राति भएपछि भारत पठाउने काम सुरु हुने स्रोतले बतायो ।