बिर्तामोड, कात्तिक ३ । असोज दोस्रो साताको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता कात्तिक ७ गतेदेखि हुने भएको छ ।
यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । अब दुई क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल खेल हुने आयोजक यङ स्टार फुटबल क्लबका अध्यक्ष उमेश राईले बताए ।
प्रतियागिताअन्तर्गत कात्तिक ७ गते हुने तेस्रो क्वार्टर फाइनल खेल राजगढ एफसी र सैनिक युथ क्लबबीच हुनेछ भने अन्तिम क्वार्टर फाइनल खेल दुधे युथ क्लबले कनकाई स्पोर्टिङ क्लबको सामना गर्नेछ ।
त्यस्तै, कात्तिक ८ गते सेमिफाइनल खेल हुने छन् । पहिलो सेमिफाइनल खेलमा जलथल एफसीसँग तेस्रो क्वार्टर फाइनलको विजेताले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेल अन्तिम क्वार्टर फाइनल विजेता र घैलाडुब्बा युवा क्लबबीच हुने राईले बताए ।
प्रतियोगिताको फाइनल खेल कात्तिक ९ गते हुनेछ । भारी वर्षाले खेल मैदान डुबानमा परेपछि खेल स्थागित भएको थियो ।
बडादसैँको उपलक्ष्यमा भएको फुटबल प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको क्लबका सचिव माधव खरेलले बताए ।
खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले राईले बताए ।
प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव खरेलले बताए ।