बिर्तामोड, कात्तिक ८ । झापा ११ फुटबल क्लब सातौं अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । झापालाई उपाधि नजिक पुर्याउन पर्याप्त गोल आशिष चापागाईले गरे ।
बुटबल लुम्बिनी एफसीविरुद्ध २-० गोल अन्तरको सहज जित निकाल्दै झापा ११ ले फाइनलमा स्थान सुरक्षित गरेको हो । बेलबारी ११ स्थित लक्ष्मी खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलको २८औं मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले पहिलो गोल गरेका थिए ।
दोस्रो गोल आशिषले नै ७६औं मिनेटमा पेनाल्टीमार्फत् गरेका हुन् । बुटबल लुम्बिनीका रक्षापंक्तिका खेलाडी एनमेन्डी इवोसिइको डिबक्सभित्र हेन्ड भएपछि मुख्य रेफ्री विक्रम कार्कीले झापालाई पेनाल्टी प्रहारको अवसर दिए । उक्त पेनाल्टी बललाई आशिषले सहजै गोलमा परिणत गरेका थिए ।
पहिलोपटक सहभागिता जनाएको बुटबल लुम्बिनीले गोल गर्ने केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न नसक्दा उपाधि होडबाट बाहिरियो । खेलमा दुई गोल गरेका आशिष प्लेयर अफ दी म्याच घोषित भए ।
उनलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद ५ हजारसहित ट्रफी प्रदान गरे । शुक्रबार दोस्रो सेमिफाइनल खेल काठमाडौंको चित्लाङ फुटबल क्लब र सलहेस फुटबल क्लब सिरहाबीच हुनेछ ।