बिर्तामोड, कात्तिक १० । सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधिका लागि झापा ११ बिर्तामोड र सलहेस फुटबल क्लब सिरहा भिड्ने भएका छन् ।
मोरङको बेलबारी ११ स्थित लक्ष्मी खेल मैदानमा शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई ५-१ गोलको फराकिलो अन्तरले हराउँदै सलहेसले झापासँगको उपाधि भिडन्त पक्का गरेको हो ।
फाइनल खेल आज हुनेछ । पहिलोपटक १० वटा टिमले प्रतिस्पर्धा गरेको बेलबारी गोल्डकपका विजेताले अढाई चाँदीमा दुई तोला सुन जडित ट्रफीसहित नगद आठ लाख रुपैयाँ र उपविजेताले चार लाख नगद र ट्रफी प्राप्त गर्नेछन् ।