बिर्तामोड, कात्तिक १४ । न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोडको रेड स्टार एफसीले जितेको छ ।
आज बिर्तामोड–७ खोपबाडीको सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेलमैदानमा भएको फाइनल खेलमा हल्दिबारीको जलथल एफसी हराउँदै रेड स्टार च्याम्पियन बनेको हो ।
उपाधिसँगै रेड स्टारले नगद ५१ हजार, आकर्षक ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित जलथलले नगद ३१ हजार र ट्रफीमा चित्त बुझायो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा रेड स्टारले जलथललाई ४–३ गोल अन्तरले हरायो ।
फाइनल खेलको प्लेयर अप द म्याच रेड स्टारका प्रविन सिटौला भए । उनले नगद २ हजार र ट्रफी पाए ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता रेड स्टारका विप्लव गुरुङ, उत्कृष्ट डिफेन्डर जलथलका आयुष तामाङ, उत्कृष्ट मिल्डफिल्डर रेड स्टारका असिम कार्की, उत्कृष्ट फरवार्ड जलथलका मनिष योङहाङ भए ।
प्रतियोगिताको उच्च गोलकर्ता बबिन बोहोरा भए भने उदीयमान खेलाडी आयोजक न्यु स्टारका अभिषेक राई र उत्कृष्ट प्रशिक्षक रेड स्टारका सरोज कार्की भए । उनीहरुले नगद तीन हजार र ट्रफी पाए ।
सर्वोत्कृष्ट खेलाडी बनेका रेड स्टारका राजकुमार कन्दङवाले ट्रफीसहित नगद ५ हजार पाए ।
विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बू, बिर्तामोड ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेल, वडा नम्बर ७ का अध्यक्ष सूर्यप्रसाद कन्दङवालगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव सरोज न्यौपानेले गरेका थिए ।