भद्रपुर, कात्तिक १९ । झापाको भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा स्तरोन्नति तथा सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको हो ।
भद्रपुर १० कलवलगुढी खेल मैदानमा भोलि कात्तिक २० गतेदेखि सुरु भएर कात्तिक २६ गते फाइनल खेल हुने प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, आदर्श मैदान एकाडेमी अफ स्पोटर्स बिर्तामोड र भद्रपुर झापा गोल्डकप एउटा समूूहमा छन् ।
त्यस्तै, विशालपुर फुटबल एकाडेमी पृथ्वीनगर, ध्रुवतारा एकाडेमी दमक, हल्दिबारी गाउँपालिका र न्यु स्टार क्लब खोपबाडी बिर्तामोड एउटा समूहमा छन् ।
प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र काँकरभिट्टा आपसमा खेल्नेछन् । सोही दिन विशालपुर पृथ्वीनगरविरुद्ध ध्रुवतारा दमकले प्रतिस्पर्धा गर्नेछ ।