भद्रपुर, कात्तिक २२ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा समूह ए को काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर शीर्ष स्थानमा उक्लिएको छ ।
लगातार दोस्रो जित निकालेको काँकरभिट्टाको ६ अंक पुगेको छ । आज भएको खेलमा उसले भद्रपुर ब्लेजर्सलाई ३–० गोल अन्तरले हरायो । ब्लेजर्सको दुई खेलमा ३ अंक छ ।
खेलको २३ औँ र ४५ औँ मिनेटमा शिशिर थापा र ३५ औँ मिनेटमा अर्पण राईले गोल गरे । खेलको प्लेयर अफ द म्याच थापा भए ।
उनलाई भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ र सचिव तीर्थराज ढकालले नगद ५०० र ट्रफी प्रदान गरे ।
त्यस्तै, आज भएको समूह ए कै अर्को खेलमा भद्रपुर फुटबल ट्रेनिङ सेन्टर र आदर्श मैदान एकाडेमी अफ स्पोटर्स बिर्तामोडले अंक बाँडेका छन् । भद्रपुर र आदर्शको दुई खेलमा समान १–१ अंक छ ।
भद्रपुरका लागि २३ औँ मिनेटमा अभय राजवंशीले गोलल गरे भने आदर्शका लागि खेलको ३३ औँ मिनेटमा दर्पण गुरुङले बराबरी गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच भद्रपुरका प्रशान्त जैसवाल भए । उनलाई झापा जिल्ला फुटबल संघका कोषाध्यक्ष भूपेन लिम्बूले नगद ५०० र ट्रफी प्रदान गरे ।
भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक २६ गते हुनेछ ।