भद्रपुर, कात्तिक २२ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘बि’ को खेलमा विशालपुर फुटबल एकाडेमी पृथ्वीनगरले हल्दिबारी गाउँपालिकालाई पराजित गरेको छ ।
विशालपुरले हल्दिबारीलाई २–० गोल अन्तरले हराएको हो । पहिलो खेलमा पराजय भोगेको विशालपुरको आजको जितपछि दुई खेलमा ३ अंक भएको छ ।
अघिल्लो खेलमा जित निकालेको हल्दिबारीको पनि समान ३ अंक छ । सोही समूहका एकएक खेल खेलेका ध्रुवतारा एकाडेमी दमकको ३ अंक छ भने न्यु स्टार क्लब खोपबाडी बिर्तामोड अंकविहीन छ ।
आजको खेलमा विशालपुरका लागि ११ औँ मिनेटमा सचिन राई र ४२ औँ मिनेटमा रोनक तामाङले गोल गरे । खेलको प्लेयर अफ द म्याच तामाङ भए ।
उनलाई भद्रपुर-१० का वडा सदस्य तुलसी पोखरेल र महिला अधिकारकर्मी रेखा अधिकारीले नगद ५०० र ट्रफी प्रदान गरे ।
भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक २६ गते हुनेछ ।