भद्रपुर, कात्तिक २३ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा समूह ए को काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले लिग चरणको अन्तिम खेल बराबरी खेलेको छ ।
लिग चरणमा समूह विजेता बन्दै काँकरभिट्टा सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले समूह बि को उपविजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । काँकरभिट्टाले ७ अंक जोड्यो ।
आज भएको खेलमा उसले बिर्तामोडको आदर्श मैदान स्पोर्टस् एकाडेमीसँग गोलरहित बराबरी खेल्यो । खेलको प्लेयर अफ द म्याच काँकरभिट्टाका धीरेन राई भए ।
उनलाई मुनाल क्लबका पूर्वअध्यक्ष केशव मैनाली र स्थानीय प्रकाश राईले नगद ५०० र ट्रफी प्रदान गरे ।
त्यस्तै, आज हुने भनिएको समूह बि को खेलअन्तर्गत ध्रुवतारा एकाडेमी प्राविधिक कारणले नआएपछि प्रतिस्पर्धी बिर्तामोडको न्यु स्टार क्लब विजय घोषित भयो । उसले तीन गोलसहित ३ अंक जोड्यो ।
समूह बि मा समान दुई खेल खेलका विशालपुर पृथ्वीनगर र हल्दिबारीको ३–३ अंक छ । प्रतियोगितामा सहभागी नभएको ध्रवतारा स्वतः बाहिरिएको छ ।
भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक २६ गते हुनेछ ।