बिर्तामोड, कात्तिक २७ । प्रदिप बुढाथोकीको चार गोल मद्दतमा भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
अन्तर नगरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा आयोजकलाई ६–२ गोल अन्तरले हराउँदै भद्रपुरले शानदार जित निकालेको हो ।
बुढाथोकीले खेल ३० औँ, ३५ औँ, ५४ औँ मिनेटमा ह्याट्रिक पूरा गरे । उनले ६० औँ व्यक्तिगत चौथो गोल गरे । त्यस्तै, भद्रपुरका लागि ३८ औँ मिनेटमा उदेस कामती र ४२ औँ मिनेटमा रोहित सुब्बाले गोल गरे ।
खेलको चौथो मिनेटमा गोल गर्दै भद्रपुरविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा आयोजकले फराकिलो हार व्यहोरेको हो । आयोजकका कप्तान राजेश दाहालले पहिलो गोल गरेका थिए । ५० औँ मिनेटमा विशाल माझीले एक गोल फर्काए ।
भद्रपुरका लागि ४ गोल गरेका प्रदिप बुढाथोकी प्लेयर अफ द म्याच भए । उनलाई भद्रपुर नगरप्रमुख गणेश पोखरेल, प्याब्सन अर्जुनधाराका उपाध्यक्ष बालगोपाल गौतम र प्रतियोगिताका संयोजक सीताराम भट्टराईले नगद ५ हजार र ट्रफी प्रदान गरेका थिए ।
अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आयोजना अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेका हुन् ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार २११ र उपविजेताले ५५ हजार ६५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउनेछ ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगिताको बेस्ट स्कोरर, बेस्ट डिफेन्डर, बेस्ट कोच, बेस्ट फरवार्ड, बेस्ट गोलकिपरले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।