बिर्तामोड, मंसिर १ । भद्रपुर नगरपालिका दमकलाई हराउँदै चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वार्टर फाइनलमा दमक नगरपालिकालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा २-२ गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो । बराबरी भएको खेलमा भद्रपुरका लागि सातौँ मिनेटमा विकास राईले पहिलो र ४४ औँ मिनेटमा प्रदिप बुढाथोकीले दोस्रो गोल गरे ।
दमकका लागि सञ्जय धिमालले २० औँ मिनेटमा पहिलो र किस्मत लिम्बूले ४२ औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।
आजको खेलमा भद्रपुरका प्रदेश टुडू प्लेयर अफ द म्याच भए । उनलाई भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, प्रतियोगिताका संयोजक सीताराम भट्टराईलगायतले नगद ५ हजार र ट्रफी प्रदान गरे ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । गोल्डकपको फाइनल खेल मंसिर ५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउनेछ ।
प्रतियोगिताको बेस्ट स्कोरर, बेस्ट डिफेन्डर, बेस्ट कोच, बेस्ट फरवार्ड, बेस्ट गोलकिपरले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।