बिर्तामोड, पुस ३ । प्रथम झापा कप २०८१ को तेस्रो क्वार्टर फाइनल खेल आज चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्टस् क्लबबीच हुँदैछ ।
डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको चर्च ब्वाइज बैशाखमा भएको भोजपुर गोल्डकपको विजेता हो ।
लिग लिडर चर्च ब्वाइजसँग एएफसी च्यालेन्ज लिगको छनोट र ४० औँ अखिल भारत गभर्नस् गोल्डकप खेलेको अनुभव छ ।
सिरहा गोल्डकपको अपेक्षित नतिजा निकाल्न नसकेको चर्च ब्वाइज मंसिर अन्तिा साता इलाममा भएको इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग पराजित भएको थियो ।
मोफसलका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको लुम्बिनी प्रदेशको सशक्त टिम गोर्खा ब्वाइज असोजमा भएको झरना रनिङ शिल्डको अन्तिम चारमा पुगेको थियो ।
अघिल्लो सिजन पूर्वी नेपालका प्रतियोगितामा अघिल्लो चरणसम्म पुगेको गोर्खा ब्वाइजसँग केही विदेशी खेलाडीसहितको टिम रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।