२०८१ पुष २४ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

प्रथम जिजिआर स्मृति खुला फुटसलः क्वार्टर फाइनल समीकरण पूरा


मेचीनगर, पुस २० । झापाको मेचीनगरमा जारी स्वर्गीय गणेश–ज्ञानेन्द्र राउत (जिजिआर) स्मृति प्रथम खुला फुटसल प्रतियोगितामा आठवटा टिम क्वार्टर फाइनल प्रवेश गरेका छन् ।

आज भएका प्रिक्वार्टर फाइनल खेलहरुमा आठवटा टिमले क्वार्टर फाइनलमा स्थान पक्का गरेका आयोजक रेड स्टार फुटसलका अध्यक्ष देवेन्द्र राउतले जानकारी दिए ।

मेचीनगर-१० गोलबारीस्थित फुटसल मैदानमा भएको उद्घाटन खेलमा गोलबारी एफसीले आसमान एफसीलाई हरायो ।

त्यस्तै, धुलाबारी बिइइले रेड स्टार दमक, बिसिवाइएफ एफसीले रेड स्टार एफसी, भेडास इलामले आदर्श स्कुल बिर्तामोड र गोलबारी गाउँ एफसीले निदि स्कुल बिर्तामोडलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरे ।

त्यस्तै, अन्तिम विकल्प एफसी बिर्तामोडले इटाभट्टा एफसी, रेड स्टार गोलबारी फुटसलले मध्यपूर्व चारआली र विर्ता सिटी हस्पिटल बिर्तामोडले मार्क्स एफसी सिलिगडी भारतलाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरे ।

१६ वटा टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल पुस २१ गते हुने फुटसलका सचिव प्रेमकृष्ण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउनेछ भने उपपविजेताले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले दुई हजार पाउँदा गोलकिपर एक हजार ५०० रुपैयाँ, ट्रफी र मेडल पाउनेछ । सेमिफाइनल र फाइनलको प्लेयर अफ द म्याचले एक हजार र ट्रफी पाउने अध्यक्ष राउतले बताए ।

फुटसलका अध्यक्ष राउतका बुवा गणेश राउत र दाजु ज्ञानेन्द्र राउतको स्मृतिमा आयोजना गरिएको प्रतियोगितालाई निरन्तरता दिइने बताइएको छ । फुटसल प्रतियोगितालाई निरन्तरता दिँदै फाउन्डेसनको रुपमा विकसित गरिनेछ ।

रेड स्टार एफसीका समेत सचिव रहेका श्रेष्ठका अनुसार प्रतियोगिताबाट बचेको रकमले विपन्न समुदायका व्यक्तिको निःशुल्क आँखा र दाँत परीक्षण गरिने भएको छ । अहिले पनि मेचीनगर-१० र १४ का विपन्न बालबालिकालाई निःशुल्क खेलमैदान उपलब्ध गराइएको छ ।

Comments are closed

Adv footer