२०८१ पुष २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

डोमालाल राजवंशी रंगशाला प्रवेशमा रोक


बिर्तामोड, पुस २५ । जथाभावी प्रयोग हुँदा मैदान बिग्रिने भएकाले नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशाला प्रवेशमा रोक लगाइएको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आज बसेको बैठकले रंगशाला प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष विकास गिरीले झापा टुडेलाई जानकारी दिए ।

समितिको आयोजनामा हुन गइरहेको प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताका लागि मैदान मर्मत गर्नुपर्ने भएकाले पुस २७ गतेबाट मैदान प्रवेशमा रोक लगाएको समितिले जनाएको छ ।

समितिले यही माघको दोस्रो सातादेखि झापाका पालिकाबीचमा महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ । पुस पहिलो साता सकिएको झापा कपको समयमा रंगशाला मर्मत गरिएको थियो ।

समितिले केही कार्यक्रम गर्नु परे रंगशालापछाडिको मैदान प्रयोग गर्न दिने निर्णय गरेको समितिका अध्यक्ष गिरीले जानकारी दिए ।

गत वर्ष भाक्का दिवसको कार्यक्रम आयोजना हुँदा मैदानको केही भाग खुर्केर चिल्लो पार्दा झार उमार्न निक्कै समय लागेको थियो । त्यसले मैदानको स्वरुप नै बिगारेको थियो ।

हाल देवी गुठीको मातहतमा रहेको रंगशाला भएको जग्गा केही व्यापारीले व्यक्तिगत समेत बनाएका छन् । तर, उनीहरुले भोगचलन गर्न भने सकेका छैनन् ।

सोही जग्गामा २०७२ सालदेखि स्थानीय सामाजिक व्यक्तित्व जलकुमार गुरुङको अगुवाईमा खेलमैदान संरक्षणको सुरुवात भएको थियो ।

खेलमैदानको जथाभावी प्रयोग हुँदा तथा संरक्षण नहुँदा मैदान मर्मतका लागि प्रत्येक वर्ष दस लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ ।

Comments are closed

Adv footer