बिर्तामोड, पुस २६ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बाका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएपछि उनको परिवार विस्थापित भएको छ ।
थेगिमको शंकास्पद मृत्युपछि उनको गर्भवती श्रीमतीसहित परिवार गाउँबाट विस्थापित भएर झापामा आश्रय लिएर बसेको स्थानीयले झापा टुडेलाई जानकारी दिए ।
गाउँबाट विस्थापित भएपछि मृतककी श्रीमती र बुबा मृतककी दिदी विष्णुमायाको झापा गौरादहस्थित घरमा बसेका छन् । पाँचथरका डिएसपी कौशल बुढाथोकीले घटनापछि घरमा बस्दै आएका बुबा र उनको श्रीमती घरमा ताला लगाएर आफन्तकोमा गएको जानकारी दिए ।
गत २१ मंसिर घाइते भएका थेगिमको भोलिपल्ट मृत्यु भएको थियो । यो घटना सुरुमा गुपचुप थियो । हतारहतार पोस्टमार्टम गरी शवको दाहसंस्कार भएको थियो । घटनापछि मृतकको परिवार गाउँबाट गौरादह-९, बैगुनधुरामा विस्थापित भएको हो ।
विवादमा पालिका अध्यक्ष
यसैबीच, थेगिमको शंकास्पद मृत्यु प्रकरणको विषय सार्वजनिक भएपछि गाउँपालिका प्रमुख अमरराज माखिम विवादमा तानिएका छन् । थेगिमको शंकास्पद मृत्यु प्रकरणमा संलग्न भएको भन्दै प्रहरीमा जाहेरी परेपछि पालिका प्रमुख माखिम विवादमा तानिएका हुन् ।
अध्यक्ष माखिमसहित ९ जनाविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धानका लागि पालिका प्रमुख माखिमसहित अन्य स्थानीयको बयान लिइसकेको छ ।
शंकास्पद मृत्युपछि हतारमा गरिएको अन्तिम संस्कारले शंका पैदा गरेको छ । प्रहरीले भने घटना शंकास्पद नभई भवितव्य भएको जनाएको छ ।
पालिका अध्यक्ष नै जोडिएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा टोली खटाएको थियो । चार दिन घटनाको अनुसन्धान गरेर दाहाल नेतृत्वको टोली पाँचथरबाट फर्किएको छ ।
गाउँपालिका प्रमुखसँग शिकार खेल्न जाने क्रममा थेगिमको शंकास्पद मृत्यु भएको एउटा पक्षको दाबी छ । सो पक्षको दाबीअनुसार शिकार खेल्ने क्रममा थेगिमलाई गोली लागेको थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राकेश चौधरीका अनुसार तेजबहादुरलाई अस्पताल लगेका व्यक्तिहरूले ‘भीरबाट लडेर मृत्यु भयो, अन्त्येष्टि गर्ने बाटो खुलाइदिनुपर्यो’ भनेर आग्रह गरेपछि पोस्टमार्टम सकेर पुर्जी दिइएको थियो ।
पोस्टमार्टमका लागि प्रहरीमा दिइएको निवेदनमा भने ‘भीरबाट लडेर घाइतेको उपचारका क्रममा मदन भण्डारी ट्रमा सेन्टरमा निधन भएको’ उल्लेख छ । तर, ट्रमा सेन्टर ल्याइपुर्याउँदा नै उनको मृत्यु भइसकेको डा. प्रोमिस बुढाथोकी बताउँछन् ।
उनका अनुसार तेजबहादुरको टाउकामा चोट लागेको थियो भने करङ भाँचिएका थिए, पेटमा रगत जमेको थियो । ‘काठ बोक्न जाँदा लडेर मृत्यु भएको भनियो,’ डा. बुढाथोकीले भने, ‘मैले मृत्युको यकिन कारण पत्ता लगाउन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान सुझाव दिएको थिएँ तर यहीं पोस्टमार्टम गर्न भनियो ।’
सबै काम हतारहतार गरिएकाले आफूले केही सोच्नै नपाएको विष्णुमाया बताउँछिन् । ‘एकपल्ट भाइको मुख हेर्छु भन्दा अहिले नहेरौं, छिटो अन्त्येष्टि गर्नुपर्छ भने । मिक्लाजुङको घर नजिकै घाटमा लग्दासम्म कसैले गोलिया काट्न जाँदा लडेको, कसैले अरिंगालले टोकेको त कसैले सिकार खेल्न जाँदा घटना भएको बताएपछि शंका लाग्यो,’ उनले भनिन्, ‘घाटमा गाउँलेको भनाभन नै भयो । रोइकराइ गरेपछि अनुहार उघारिदिए । गहिरो चोट थियो । त्यही बेला वडाध्यक्षसहित केहीले छिटो जलाउनुपर्छ भनेपछि दाहसंस्कार गर्यौं,’ उनले भनिन् ।
गाउँलेको कुरा सुनेपछि आफूलाई उर्लाबारीमा खाली कागजमा सही गराएको याद आएको विष्णुमायाले बताइन् । ‘अनि मृत्यु शंकास्पद छ भन्ने लागेर जाहेरी दिन खोजें,’ उनले भनिन् । तर, वडाध्यक्षसहितका केही टाठाबाठाले कहींकतै उजुर नगर्नू भनेर उनलाई दबाब दिए । ‘जे हुनु भइसक्यो, गरिब परिवार हो, हामी सहयोग गर्छौं भन्नुभयो,’ उनले सुनाइन् ।
तेजबहादुरका बुबा शरणबहादुरले घटना कसरी भयो भनेर कसैले जानकारी नदिएको बताए । ‘टाउकामा बूढीऔंलो छिर्ने प्वाल थियो,’ उनले भने, ‘गाउँपालिका अध्यक्षसँग सिकार खेल्न जान्छु भनेर हिँडेको थियो । के कसरी त्यस्तो भयो !’
पोस्टमार्टम रिपोर्टमा ‘गनसुट’ नदेखिएको प्रहरीले बताएको छ । ‘जे बाहिर आइरहेको छ नि त्योचाहिँ होइन, घटना भवितव्य देखिन्छ’, छानबिनका लागि पाँचथर पुगेर फर्किएका प्रहरी वरिष्ठ उपरीक्षक दाहालले भने, ‘पोस्टमार्टम रिपोर्टमा काहीँ पनि गनसुट इन्जुरी देखिएको छैन ।’
मंसिर २१ गतेको घटनापछि घाइते भएका युवकलाई उर्लाबारी ल्याइएको थियो । मंसिर २२ गते दिउँसो २ बजे उनको उर्लाबारीस्थित मंगलबारे ट्रमा सेन्टरमा पोस्टमार्टम भएको थियो ।
परिवारका सदस्यले भने घटनाका विषयमा भोलिपल्ट मात्रै जानकारी पाएका थिए । ‘घटनामा गनसुट देखिँदैन, भिरबाट लडेकै देखिन्छ,’ अनुसन्धानमा खटिएको प्रहरी स्रोतले भन्यो, ‘भिरबाट लडेको हो या लडाइएको हो भन्ने विषयचाहिँ अनुसन्धान भइरहेको छ ।’
गाउँपालिका अध्यक्ष माखिम आफू शिकार खेल्न नगएको दाबी गर्छन् । युवक घाइते भएको थाहा पाएपछि उपचारमा लैजान आफूले समन्वय गरेको उनले बताए ।
Comments are closed