बिर्तामोड, माघ २ । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्विरोध निर्वाचित भएका छन् । आज बिहान अध्यक्षका दुईजना उम्मेदवार र सहजकर्ताबीच भएको छलफलमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको हो ।
झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिएका थिए ।निर्वाचन समितिले आज बिहान मतदान गर्ने समय तोके पनि सर्वसम्मत भएपछि मतदान नहुने बताइएको छ ।
अध्यक्षमा सर्वसम्मत भएपछि कोषाध्यक्ष र सहसचिव तथा सदस्यमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ । आठजना सदस्य पदमा १२ जना उम्मेदवारहरुबीच छलफल भइरहेको छ ।
यसअघि पुस २९ गते मनोनयन दर्ताकै दिन वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए ।
त्यस्तै, माघ १ गते सचिवका उम्मेदवार प्रकाश शिवाकोटीले नाम फिर्ता लिएपछि अर्का उम्मेदवार बुद्ध तामाङ पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।
सहमतिको प्रयासका लागि निर्वाचन समितिले पटकपटक समयसमय थप गर्दै कार्यतालिका सार्वजिनक गरेको छ ।
सहसचिवमा वर्तमान कार्यसमिति सदस्य यादव पोखरेल र विष्णु सिग्देल तथा कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य चन्द्रमणि कट्टेल र बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले उम्मेदवारी दिएका छन् ।
Comments are closed