बिर्तामोड, माघ ६ । भारतको सुदेवा दिल्ली एफसीमाथि सहज जित निकाल्दै मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले माघ ८ गते नेपालको लिग लिडर चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।
नयाँ दिल्लीबाट हिरो लिगमा प्रतिनिधित्व गर्ने एक मात्र क्लब सुदेवा दिल्ली एफसीलाई २–१ गोल अन्तरले हराउँदै झापा ११ ले फाइनको यात्रा तय गरेको हो ।
झापा ११ ले सुरुवातमै अग्रता लिएको थियो । खेलको छैटौँ मिनेटमा झापा ११ का अभिषेक लिम्बू र १२ औँ मिनेटमा बिजु भुजेलले गरेको गोल नै जितका लागि निर्णायक भएको थियो ।
सुदेवा दिल्लीका लागि खेलको ७५ औँ मिनेटमा सान्त्वना गोल फर्किएको थियो । झापा ११ ले खेल अवधिभर ट्रान्सपोर्ट युनाइटेडलाई दबाबमा राखेको थियो ।
खेलको प्लेयर अफ द म्याच झापा ११ का बिजु भुजेल भए । उनले नगद १० हजार भारतीय रुपैयाँ र ट्रफी पाए ।
यसअघि झापा ११ ले भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।
त्यस्तै, झापा ११ ले क्वार्टर फाइनलमा भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई हराएर सेमिफाइनलमा सुदेवा दिल्ली एफसीसँग भेट गरेको थियो ।
माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद २० लाख र उपविजेताले नगद १० लाख भारतीय रुपैयाँ र ट्रफी पाउनेछ ।
Comments are closed