
बिर्तामोड, माघ ७ । झापाको झापा गाउँपालिकामा मलद्वारमा १० ग्रामभन्दा बढी ब्राउनसुगर लुकाएर ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई ८ बस्ने २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा ५ बस्ने ३० वर्षीय प्रविण गिरी रहेका छन् । उनीहरुलाई आज साँझ ६ः१५ बजे झापा गाउँपालिका-५ पन्थापडाबाट पक्राउ गरिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा सोही मोटरसाइकल पछाडि चढेका राजवंशीले मलद्वारमा प्लास्टिकले पोकामा लुकाइछिपाइ ल्याउँदै गरेको १२ ग्राम २० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।
प्लास्टिकबाहेक १० ग्राम १५ मिलिग्राम ब्राउनसुगर र मोटरसाइकलसहित मोटरसाइकल चालक गिरी र राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ ।