बिर्तामोड, माघ ८ । भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज नेपालका दुई चर्चित क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे हुने उपाधि भिडन्तमा नेपालको लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र मोफसलको सफल क्लब झापा ११ एफसी खेल्दैछन् ।
बाइमा रहेको चर्च ब्वाइज यसअघि क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई ४-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै, इन्टरनेसनल एफसी पञ्जाबविरुद्ध टाइब्रेकरमा ५-४ को जित निकाल्दै चर्च ब्वाइजले फाइनल यात्रा तय गरेको हो ।
यसअघि झापा ११ भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा ४-२ ले हिराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो । त्यस्तै, भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई २-१ गोले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
अन्तिम सेमिफाइनल खेलमा भारतको नयाँ दिल्लीबाट हिरो लिगमा प्रतिनिधित्व गर्ने एक मात्र क्लब सुदेवा दिल्ली एफसीलाई २-१ गोल अन्तरले हराउँदै झापा ११ ले फाइनको यात्रा तय गरेको हो ।
माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको प्रतियोगिताको विजेताले नगद २० लाख र उपविजेताले नगद १० लाख भारतीय रुपैयाँ र ट्रफी पाउनेछ ।
Comments are closed