२०८१ माघ ९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई कप भलिबलको उपाधि बेलबारीलाई


बिर्तामोड, माघ ८ । झापाको कनकाईस्थित सुरुङ्गामा सम्पन्न कनकाई कप भलिबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी नगरपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा भारतको पाहुना टोली टिभिए सिक्किमलाई हराउँदै बेलबारीले उपाधिसँगै नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेतामा सीमित सिक्किमले नगद ६१ हजार १११ मा चित्त बुझायो । प्रतिस्पर्धात्मक खेलमा पहिलो २÷२ सेट दुवै टिमले जितेपछि खेल बेस्ट अफ ५ मा धकेलिएको थियो ।

सिक्किमले पहिलो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जितेको थियो भने दोस्रो र चौथो सेट बेलबारीले २५–२० र २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । अन्तिम सेट बेलबारीले १५–१३ ले जितेको हो ।

प्रतियोगितामा बेस्ट डिफेन्डर टिभिएका अनुप राई, बेस्ट स्पाइकर बेलबारीका दिपेश क्षेत्री, बेस्ट ब्लकर बेलबारीका ऋषि घिमिरे, बेस्ट सर्भर टिभिएका पर्शुराम शर्मा र बेस्ट सेटर बेलबारीका रिदेन विष्ट भए ।

उनीहरुले नगद ५ हजार १०० र ट्रफी पाए । सर्वोकृष्ट खेलाडी बनेका बेलबारीका प्रकाश राउतलाई ३२ इन्चको टिभी प्रदान गरियो ।

कार्यक्रमका बीच झापाका पाँचजना पूर्वराष्ट्रिय भलिबल खेलाडीहरु दिपेश पाठक, सुरेन्द्र खतिवडा, गजेन्द्र ताम्लिङ, श्रीकृष्ण खड्का र सञ्जय अधिकारीलाई सम्मान गरिएको थियो ।

कनकाई माविको खेल मैदानमा भएको प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रतिनिधिसभाका सदस्य एलपी साँवा लिम्बु, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगद र ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा ताप्लेजुङ र भारत सिक्किमको एकएक, मोरङका दुई तथा झापाका १० पालिकासहित १४ वटा टिमले सहभागिता जनाएका थिए ।

Comments are closed

Adv footer