२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बर्खा स्मृति क्रिकेटः झापा र मेचीनगर विजयी


बिर्तामोड, माघ १३ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा झापा गाउँपालिका र मेचीनगर नगरपालिका विजयी भएका छन् ।

शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाबीचको खेलको निर्णय सुपर ओभरबाट लिइएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिकाले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १६३ रन बनाएको थियो ।

१६४ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले अलआउट हुँदै समान १६३ रन बनाउन सफल भयो । शिवसताक्षीका लागि २८ बलमा ९४ रन बनाएका सुजन थपलियाको पारी जितमा परिणत हुन भने असफल भयो ।

अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा शिवसताक्षीले सुपर ओभरमा दिएको १५ रनको तार्गेट झापा गाउँपालिकाले अन्तिम बल बाँकी छदै प्राप्त गर्‍यो ।

खेलको प्लेयर अफ द म्याच झापाका अलराउन्ड प्रदर्शन गर्दै ४ विकेट तथा २० रन लिएका सजाद आलम भए । उनले नगद तीन हजार र ट्रफी पाए ।

त्यस्तै, दोस्रो खेलमा हल्दिबारी गाउँपालिकाविरुद्ध मेचीनगर नगरपालिका १८६ रनको विशाल अन्तरले विजयी भयो । पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै प्रतियोगिताकै उच्च योगफल ३२० रन बनाएको थियो ।

मेचीनगरका लागि कप्तान आयुष कार्कीले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्दै ५५ बलमा १२३ रन बनाएका थिए भने विराट डाँगीले ६२ र सन्दिप ढुंगानाले ६५ रन बनाएका थिए ।

३२१ रनको विशाल लक्ष्य पछ्याएको हल्दिबारी गाउँपालिका १३४ रनमै सिमित हुन पुग्यो । मेचीनगरको जितमा शतकीय पारी खेलेका आयुष कार्की खेलको प्लेयर अफ द म्याच भए । उनले नगद तीन हजार र ट्रफी पाए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताए ।

माघ १४ गतेको पहिलो खेल बुद्धशान्ति गाउँपालिकाविरुद्ध गौरादह नगरपालिका र दोस्रो खेल कचनकवल गाउँपालिकाविरुद्ध गौरीगञ्ज गाउँपालिकाबीच रहने आयोजक समितिका सचिव मदन मगरले जानकारी दिए ।

Adv footer