
बिर्तामोड, माघ १४ । भारतको सिक्किमस्थित गान्तोकमा हुने प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा सहभागी हुने खेलाडी तथा अफिसियलको विदाइ गरिएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले जनवरी २८ देखि ३० सम्म हुने प्रतियोगिताका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको आज एक कार्यक्रमबीच विदाइ गरेको हो ।
विराटनगरस्थित बोर्डको कार्यालयमा च्याम्पियनसिपमा सहभागी हुने न्यु सेप कराते एकेडमीका ८२ खेलाडी तथा ६ अफिसियलमध्ये २० जना खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको विदाइ गरिएको हो ।
खेलाडी तथा प्रशिक्षकलाई विदाई गर्दै बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिताले खेलाडीमा आत्मविश्वास बढाउने हुँदा सहभागिता महत्वपूर्ण हुने बताए ।
बस्नेतले विदाइ गर्दै अघिल्लो आर्थिक वर्ष कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको बताउँदै बोर्डले खेलाडीहरुको क्षमता वृद्धि तथा प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गरे ।
टोलीका प्रशिक्षकमा प्रभाकर राना छन् । टोलीका खेलाडीहरुले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने रानाले जानकारी दिए ।