बिर्तामोड, माघ १५ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि २० क्रिकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १९८ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई विशाल २५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
बिर्तामोडका लागि कप्तान समिर कार्कीले ७६ र सुवान्स बजगाईंले ६७ रन बनाएका थिए । ठुलो लक्ष्य पछ्याउने क्रममा झापा १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ रन बनाउन सफल भयो ।
बिर्तामोडलाई विजय दिलाउन महत्वपूर्ण ६ विकेट लिएका बिर्तामोडका विजय कार्की खेलको प्लेयर अफ द म्याच हुँदै नगद ३ हजार र ट्रफी प्राप्त गरे ।
त्यस्तै, दोस्रो क्वार्टर फाइनल खेलमा भद्रपुर नगरपालिकाले कनकाई नगरपालिकालाई ५२ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
पहिले ब्याटिङ गरेको भद्रपुरले कनकाई नगरपालिकासामु २३४ रनको ठुलो योगफल प्रस्तुत गरेको थियो ।
भद्रपुरले १९ ओभरमा सबै विकेट गुमाए पनि २३३ रनको विशाल रन बनाएको थियो । अंकित सुवेदीले ९९ रनको पारी खेलेका थिए ।
२३४ रनको लक्ष्य पछ्याएको कनकाई नगरपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सफल भयो ।
भद्रपुरलाई जित दिलाउन सानदार ९९ रन बनाउनुका साथै ३ विकेट समेत लिएका अंकित सुवेदी खेलको प्लेयर अफ द म्याच हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।
भोलिको पहिलो खेलमा अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिका भिड्ने छन् भने दोस्रो खेल कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिकाबीच रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।
Comments are closed