बिर्तामोड, माघ २३ । झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ ।
काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ ।
पीडित युवती, आरोपित ज्येष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर छ ।
पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लंघन गर्ने यस्ता च्यानलहरूमाथि कारबाही अघि बढाइएको काउन्सिलले जनाएको छ ।
साथै, मिडियाको आवरणमा चलेका तर दर्ता नभएका युट्युब च्यानललाई साइबर ब्युरोमार्फत कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।
काउन्सिलले पत्रकारिताका मूल्य मान्यता विपरीत समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन आग्रह गरेको छ । साथै, गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी दिँदै जिम्मेवार पत्रकारितामा ध्यान दिन सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।
Comments are closed