बिर्तामोड, माघ २३ । अभिषेक कार्कीको अलराउन्ड प्रदर्शनसँगै बोस्टन क्रिकेट एकेडेमी झापाले अर्जुन ट्रफीमा पहिलो जित हात पारेको छ ।
बुधबार सम्पन्न खेलमा झापाले घोडाघोडी ११ माथि एक रनको रोमाञ्चक जित निकालेको हो । योसँगै समूह ‘ए’ मा झापाले दुई अंक जोडेको छ ।
यसअघि फ्रेन्ड्स युथ क्लब डडेलधुराले झापालाई पाँच रनले पराजित गरेको थियो । घोडाघोडी ११ को भने यो पहिलो जित हो ।
झापाले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घोडाघोडीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६० रन बनायो । घोडाघोडीका ओपनर दिनेश रावतले सर्वाधिक ६४ रन बनाए ।
४० बल खेलेका उनले चार चौका र पाँच छक्का प्रहार गरे । आयुब चन्द २४, दिपक टमटा १९ र कप्तान शेर मल्ल १० रनमा आउट भए ।
झापाका अभिषेक कार्कीले सर्वाधिक तीन विकेट गुमाए । चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । अरुण ऐरी र रमेश भट्टले समान एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ थालेको झापाले ६ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको थियो ।
झापाका रोशन साहले सर्वाधिक ४१ रन बनाए । १५ बल खेलेका उनले एक चौका र पाँच छक्का प्रहार गरे ।
रोशन विक ३७ र दिपु भुजेल १४ रनमा आउट हुँदा पवन कार्की २० र अभिषेक कार्की ३७ रनमा अविजित रहे । घोडाघोडीका शेर मल्लले सर्वाधिक दुई विकेट लिए ।
Comments are closed