![](https://jhapatoday.com/wp-content/uploads/2025/02/nj23aa-1024x510.jpeg)
बिर्तामोड, माघ २३ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ ।
आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १-० को गोल अन्तरले हराउँदै न्यु स्टार अन्तिम चारमा पक्का भएको हो ।
न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा मन्दिप कार्कीले गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ७ हजार र ट्रफी पाए ।
झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी प्रतियोगिताअन्तर्गत भोलि अन्तिम क्वार्टर प्लानिङ ब्वाइज काठमाडौँ र भारतको माने मञ्ज्याङ एफसीबीच हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।
क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।
Comments are closed