
बिर्तामोड, फागुन २९ । झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अवस्थामा रहेको पाइएको छ ।
हिजो साँझ कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा भेटिएको हो ।
३–४ वटा जंगली हात्तीले वरिपरि घेरेर राखेपछि हिजो साँझ कोही पनि जान सकेका थिएनन् । आज बिहान डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानीलगायतको टोली घटनास्थल पुगेको थियो ।
त्यहाँ पुगेर हेर्दा शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती भेटिएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए ।
हात्तीको दाह्राको टुप्पो काटिएको छ । हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल ७ का वडा सदस्य शेरबहादुर थेवेले जानकारी दिए ।
झापामा चालु आर्थिक वर्षमा हात्ती मरेको यो पहिलो घटना हो । गत आर्थिक वर्षमा चारवटा हात्ती मृत भेटिएका थिए ।
यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा झापामा चारजनाको ज्यान गइसकेको छ । झापामा मानिस र हात्तीबीचको द्वन्द्व बढ्दै गइरहेको छ ।