२०८३ बैशाख २५ शुक्रबार
Jhapa Today
Adv top

भद्रपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु


बिर्तामोड, बैशाख २२ । झापाको भद्रपुरमा स्कुटर अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक दमक-२ का २९ वर्षीय रविन फुयल सकुशल छन् ।

हिजो राति दुर्घटना हुँदा मृत्यु हुनेमा भद्रपुर-२ स्थित गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी विदेश उड्ने तयारीमा थिए ।

प्रहरीका अनुसार आइतबार राति पौने ९ बजे मेची राजमार्गको चारआली–केचना सडक खण्डअन्तर्गत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्रदेश १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण तल बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

स्कुटर पछाडि लिम्बूको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकको नालामा गएर ठोक्किँदा स्कुटरको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू फर्किंदै थिए ।

लिम्बूलाई स्कुटर चालक फुयल घर छोड्न आएका थिए । लिम्बूको ससुराली घर भद्रपुर हो । पानी परिरहेको र बिजुली पनि गएको अवस्थामा सो स्कुटर अनियन्त्रित भएर सडक छेउको नालामा खसेर दुर्घटना भएको थियो ।

वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र स्कुटर चालक फुयललाई नियन्त्रणमा लिएको छ ।

Adv footer