
बिर्तामोड, बैशाख २२ । झापाको शिवसताक्षी-१० माईधारमा रहेको अनन्त आदर्श संस्कृत वेद विद्यालयमा पढ्ने एकजना विद्यार्थी मृत भेटिएको विषयमा परिवारले छानबिनको माग गरेको छ ।

कक्षा ५ मा पढ्ने कनकाई-७ का १२ वर्षीय उत्सव गौतम गत चैत २७ गते गुरुकुलको स्टोरमा मृत अवस्थामा भेटिएका थिए ।

गौतमले ‘आत्महत्या’ गरेको भनिए पनि परिवारले घटना रहस्यमय भनिरहेको छ । मृतक विधार्थीको परिवारले घटना शंकास्पद भएको दाबी गर्दै छानबिनको माग गरेको हो ।

उनका बुबा बोधराज गौतमले घटना गम्भीर भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् । छोराले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको बोधराजको भनाइ छ ।
उत्विलाई एक वर्षअघि खुदुनाबारीस्थित साधुटारबाट अनन्त आदर्श संस्कृत वेद विद्यालय ल्याइएको थियो ।

गौतमले जाहेरी दिन खोजे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । बैशाख १६ गते पुनः जाहेरी दिन गएको भए पनि प्रहरी प्रशासनले उजुरी नलिएको र पोस्टमार्टम रिपोर्टको प्रतिलिपिसमेत नदिएको गौतम परिवारको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेले प्रारम्भिक जानकारी संकलन गरिरहेको छ । घटनालाई सूक्ष्म रूपमा बुझ्न इलाका प्रहरीसँग समन्वय गरी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
गुरुकुलका शिक्षक देवेन्द्र भण्डारीले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।





