
बिर्तामोड, जेठ २५ । झापाको कमल गाउँपालिकस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका एकजना अधिकृतको मृत्यु भएको छ ।

दुर्घटनामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो राति अन्दाजी ८ बजेतिर राजवंशीले चलाएको प्रदेश १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल सानोकेर्खामा अनियन्त्रित भएको थियो ।

मोरङ कानेपोखरी-४ घर भएका ४८ वर्षीय राजवंशी सशस्त्र प्रहरी बल नेपाल, इलाम बोर्डर आउट पोस्ट समालबुङमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो राति ९ः१० बजे मृत्यु भएको हो ।
