
बिर्तामेड, असार ११ । प्रहरीले झापाको भद्रपुरबाट एउटा कारसहित चारजनालाई ठुलो मात्राको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पछिल्लो समयमा झापाका सीमावर्ती नाकाबाट निजी गाडी प्रयोग गरी ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको पाइएको हो ।

पाँच दिनको अन्तरालमा भद्रपुरमा दुईवटा निजी कारसहित ६ जना पक्राउ परेसँगै ब्राउन सुगरको कारोबार फस्टाएको हो । यसैक्रममा आज दिउँसो १२ बजेको समयमा भद्रपुर–७ स्थित आनी होटेल रोड अगाडिबाट एउटा कारसहित चारजना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खडकाका अनुसार पक्राउ पर्नेहरू जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका–१३ का ३१ वर्षीय साजन तामाङ, सोही ठाउँका ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी–११ का २३ वर्षीय राम तामाङ रहेका छन् ।

उनीहरूलाई बुधबारै प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालको कमान्डमा खटिएको टोलीले भारतबाट ब्राउन सुगर खरिद गरी काठमाडौँतिर फर्किंदै गरेको बा.प्र ०१–३–च ०८७७ नम्बरको हुन्डाई कम्पनीको क्रेटा कार चढी गइरहेको अवस्थामा उनीहरूलाई रोकेर जाँच गरेका थिए ।


चेकजाँचको क्रममा गाडीभित्र रहेको झोलाबाट २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर (लिसाइलो पदार्थ) फेला परेको थियो ।
सात थान मोबाइल, कार, ब्राउन सुगरसहित उनीहरूलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रणमा ऐन २०३३ बमोजिम कसूरको अनुसन्धानको लागि आजै झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिसकेको डिएसपी खड्काले बताए ।
त्यस्तै, असार ७ गते भद्रपुर–५ स्थित भन्सार गेट अगाडिबाट पनि एउटा निजी कारसहित दुईजना ब्राउन सुगरका कारोबारी पक्राउ परेका थिए ।
भारतबाट ब्राउन सुगर मगाएर बा.प्र.०१–०३० च ७७९३ नम्बरको नेटा इभी कार चढेर काठमाडौँ जानै लाग्न खोज्दा काठमाडौँ महानगरपालिका २६ का २४ वर्षीय निवेश कुवेर र जिल्ला लमजुङ कोलासोतार गाउँपालिका ७ का २२ वर्षीया नोजिना राना पक्राउ परेका थिए ।
विशेष सूचनाको आधारमा पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले उनीहरूको ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
त्यसैगरी, बैशाख ३१ गते गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज बजारबाट लागुऔषध कारोबारमा संलग्न दमक नगरपालिकाका भूपेन्द्र राई, भारत बस्ने भोला ठाकुर, मोनाजिर आलम १०० ग्राम ०९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।