
बिर्तामोड, असोज १८ । मौसम पूर्वानुमान महाशाखाले तीन दिन लगातार भारी वर्षा हुने बताएपछि मेची राजमार्गअन्तर्गत पहाडी क्षेत्रमा सवारी सधान आउजाउमा रोक लगाइएको छ ।




झापाको सिमानामा रहेको इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।




आज सूचना निकालेर मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि राँकेसम्म एवम् मेची करिडोर (केचना–कञ्चनजंघा सडक) मा आज बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका सानाठुला सवारी साधनको आवागमन पूर्ण रुपमा बन्द गरिएको जनाएको हो ।




साथै, दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरे इलामतर्फ प्रस्थान गर्ने ठुला सवारी साधन (कुल वजन १० टनभन्दा बढी भएकाहरुले) मेची करिडोर (केचना–कञ्चनजंघा सडक) र साना सवारी साधन कुल वजन १० टनभन्दा कम भएकाहरुले सिमलगोलाई जोगमाई–तिल्केनी सडक प्रयोग गर्न सूचित गरिएको छ ।




प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधि सक्रिय भएको छ ।




हाल उच्च मात्रामा वर्षा भइरहेको हुँदा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा सम्भावित विपतजन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सो व्यवस्था गरिएको उल्लेख छ ।




ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले पनि मेची राजमार्गमा सवारी साधन आवागमन बन्द गर्ने सूचना जारी गरेको थियो ।