
बिर्तामोड, बैशाख १९ । प्रहरीले झापाको शिवसताक्षीबाट जबरजस्ती करणी गरेको आरोपमा एकजना युवालाई पक्राउ गरेको जनाएको छ । उनी घटनापछि फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा शिवसताक्षी–९ का २३ वर्षीय अमृतधन कुलुङ राई रहेका छन् । उनलाई हिजो साँझ पक्राउ गरिएको हो ।

२०८२ माघ २० दिउँसो १९ वर्षीया एकजना किशोरीलाई करणी गरेको आरोपमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राईले शिवसताक्षी–९ दुधेमा रहेको आफ्नै पुरानो घरमा ललाइफकाई जबरजस्ती करणी गरेको बैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा दिइएको जाहेरीमा उल्लेख छ ।
राईलाई खोजतलासको क्रममा दुधे चोकबाट पक्राउ गरिएको हो । अभियुक्त राईलाई झापा जिल्ला अदालतमा उपस्थित गराई ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






