
बिर्तामोड, असोज २१ । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागका धेरै स्थान र गण्डकीको पश्चिमी भू–भागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ ।




मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहनेछ ।




दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत कोशीका पहाडी भू–भागका थोरै स्थान तथा तराईका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।




यसअघि सोमबारदेखि मनसुन बाहिरिन थालेको थियो । यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनीको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकीको पश्चिमी भू–भागको थोरै स्थानबाट बाहिरिएको महाशाखाले जनाएको थियो ।




मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।



