२०८३ जेठ १३ बुधबार
Jhapa Today
Adv top

बुद्धशान्तिमा चितुवाको वीभत्स हत्या गर्नेको खोजी सुरु


बिर्तामोड, चैत २१ । झापाको बुद्धशान्तिमा १२ दिनअघि भएको चितुवाको क्रुर हत्या घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा कारबाहीका लागि अनुसन्धान प्रक्रिया तीव्र पारिएको छ ।

डिभिजन वन कार्यालय झापाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्देशनमा सुरज निरौलाको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको हो । विशाल भट्टराई र सौरभ थापाले उजुरी दिएपछि केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइले दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएको थियो ।

गत चैत ८ गते बुद्धशान्ति–४ को टिमाई शिविरनजिकै मकैबारीमा देखिएको चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको प्राविधिक टोली प्रयासरत थियो । ‘डार्ट’ प्रहार गरी चितुवालाई नियन्त्रणमा लिने क्रममा नै मादक पदार्थ सेवन गरेका व्यक्तिहरू समेत सहभागी अराजक भीडले खुकुरी, दाउ, ढुङ्गा र लाठी प्रहार गर्दै चितुवाको हत्या गरका थिए ।

घटनास्थलमा प्रहरी परिचालन गरी माइकिङ गरिए पनि करिब १५ सयको उत्तेजित भीडलाई नियन्त्रण गर्न नसक्दा सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठेको छ ।

अनुसन्धान टोलीले घटनास्थलका भिडियो तथा तस्बिरहरू सङ्कलन गर्दै संलग्नहरूको पहिचान गरिरहेको छ । डिभिजन वन कार्यालयका प्रमुख नथुनी गुहयारी यादवका अनुसार वन्यजन्तु अपराधमा हदम्याद नहुने भएकाले दोषी प्रमाणित भए जुनसुकै समयमा पनि कारबाही गर्न सकिनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार चितुवा मार्ने व्यक्तिलाई ५ देखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

घटनाका दिन चितुवा हेर्न र भिडियो खिच्न ठुलो भीड भेला भएको थियो । भीडले जनावरलाई जिस्क्याउँदा अवस्था तनावपूर्ण बनेको र त्यसक्रममा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठसहित स्थानीय कृष्ण गजमेर, दुर्गाबहादुर कटुवाल र विशाल कार्की घाइते भएका थिए ।

चितुवा आक्रामक बनेपछि भीड थप उग्र बन्दै अन्ततः नियन्त्रणको अवस्थामा रहेको वन्यजन्तुको समेत वीभत्स हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Adv footer