
बिर्तामोड, चैत २२ । प्रहरीले झापाको भद्रपुरबाट ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिक्रीबर्ता र खरिदकर्ता रहेका छन् ।
प्रहरीले गोप्य सूचनाका आधारमा भद्रपुर-४ डाँगीबारीका बब्लु मर्डी र उनको घरमा ब्राउन सुगर किन्न गएको बिर्तामोड-१ का २७ ववर्षीय अनमोल गजमेर पक्राउ परेका हुन् ।

आज दिउँसो मर्डी बस्ने घर कम्पाउण्डमा बिक्री प्रयोजनार्थ लुकाएर राखिएको अवस्थामा २१८ ग्राम ५० मिलिग्राम ब्राउन सुगर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, उनीहरुको साथबाट नेपाली नोट तीन लाख दुई सय ५० रुपैयाँसहित अमेरिकन डलर ७५, पाकिस्तानी रकम ५०, अस्ट्रेलियन पाँच डलर, भारतिय रुपैयाँ ५३० र २ थान मोबाइल बरामद गरिएको छ ।
प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको न्यायिक हिरासतमा राखर थप अनुसन्धान सुरु गरेको जनाएको छ । चैत १ गतेदेखि लागुऔषध कसूर नियन्त्रणको लागि सुरु गरिएको मिसन “अपरेसन ब्राउन“ अन्तर्गत उनीहरु पक्राउ परेका हुन् ।




