२०८२ चैत्र २४ मंगलबार
Jhapa Today
Adv top

कोशी–बङ्गाल पर्यटन उत्सवः बाँसको जराका सामग्री आकर्षणको केन्द्र


बिर्तामोड, चैत २४ । कोशी पर्यटन वर्ष २०८२ अन्तर्गत झापाको बिर्तामोडमा कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ सुरु भएको छ ।

मनदेखि मन जोड्ने उद्देश्यले आयोजित महोत्सवमा हस्तकलाका सामग्री आकर्षणको केन्द्र बनेका छन् । त्यसमा पनि झापाको भद्रपुर–८ का हस्तकला व्यवसायी निर्मल शाक्यले बाँसको जराबाट बनाएका हस्तकलाका सामग्री आकर्षक बनेका छन् ।

उनले विभिन्न धार्मिक तथा सजावटी सामग्री निर्माण गर्दै आएका छन् । करिब १५ वर्षदेखि उनले प्राकृतिक रूपमा पाइने बाँसको जरालाई प्रयोग गरी हस्तकलाका आकर्षक सामग्री तयार पार्दै आएका हुन् ।

बाँसको जरालाई सफा गरेर, सुकाएर र त्यसलाई हातैले कुँदेर उनले भगवान गौतम बुद्ध, गणेश लगायत विभिन्न आकृतिका मूर्तिहरू, चराचुरुङ्गी तथा घर सजावटका सामग्री निर्माण गरेका छन् । पूर्ण रूपमा हातैले तयार गरिने यी सामग्रीहरू हेर्दा आकर्षक मात्र नभई नेपाली मौलिक कला र संस्कृतिको झल्को दिने खालका छन् ।

शाक्यले निर्माण गरेका सामग्रीहरूमा विभिन्न चराहरू, जनावरहरू, धार्मिक मूर्तिहरू तथा सजावटी आकृतिहरू समावेश छन् । बाँसको जराको प्राकृतिक आकारलाई नै उपयोग गरेर कलात्मक रूपमा कुँद्ने भएकाले प्रत्येक सामग्री फरकफरक र विशेष देखिने गर्दछ । यही कारणले यस्ता हस्तनिर्मित सामग्रीहरू स्थानीय मात्र होइन बाहिरी आगन्तुकका लागि पनि विशेष आकर्षण बन्ने गरेका छन् ।

हाल उनले आफ्ना हस्तकलाका सामग्रीहरू आजदेखि सुरु भएको दुई दिने कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन महोत्सवमा प्रदर्शनका लागि ल्याएका छन् । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा सञ्चालन भइरहेको उक्त कार्यक्रममा नेपाल र भारतबाट आएका पर्यटक तथा अतिथिहरूलाई उनले आफ्ना सामग्रीहरू देखाउँदै बिक्री वितरण समेत गरिरहेका छन् ।

कार्यक्रममा सहभागी भएका धेरै आगन्तुकहरूले बाँसको जराबाट बनेका यस्ता अनौठा र कलात्मक सामग्रीप्रति चासो देखाइरहेका छन् । धेरैले सामग्री नजिकबाट हेर्ने, त्यसबारे जानकारी लिने तथा किन्ने समेत गरिरहेको शाक्यले बताए ।

उनका अनुसार बाँसको जराबाट सामग्री बनाउन समय, धैर्य र सीप आवश्यक हुन्छ । एउटा सामग्री तयार गर्न कहिलेकाहीँ धेरै समय लाग्ने गर्दछ । तर, मेहनत र लगनशीलताले गर्दा यो कामलाई उनले निरन्तरता दिँदै आएका छन् ।

स्थानीयस्तरमै उत्पादन गरिने यस्ता हस्तकलाका सामग्रीहरूले नेपाली कला, संस्कृति र पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । साथै, यस्ता कामले स्थानीय सीपलाई जगेर्ना गर्नुका साथै आयआर्जनको माध्यम पनि बन्ने गरेको छ ।

स्थानीयस्तरमा उत्पादन हुने यस्ता हस्तकलालाई राज्य तथा सम्बन्धित निकायले प्रवर्द्धन गरेमा नेपाली हस्तकलाले अझ व्यापक पहिचान पाउने अपेक्षा गरिएको छ । उनले निर्माण गरेका सामग्री आकर्षकको केन्द्र बनेको थियो ।

Adv footer