
बिर्तामोड, चैत २४ । झापाको बिर्तामोड यतिबेला केवल बजार सहर मात्र होइन, नेपाल र भारतको पश्चिम बङ्गालबीच सम्बन्ध गाँस्ने एउटा साझा मञ्च बनेको छ । कोशी पर्यटन वर्ष २०८२ अन्तर्गत सुरु भएको ‘कोशी–बङ्गाल पर्यटन महोत्सव’ ले कला, संस्कृति र व्यापारलाई एकै ठाउँमा ल्याएको छ ।
महोत्सवमा सजिएका ३० भन्दा बढी स्टलहरू, सांस्कृतिक प्रस्तुति र हजारौँको उपस्थिति—यी सबैले सीमापार सम्बन्धको गहिराइ झल्काएको छ ।

पश्चिम बङ्गालका पर्यटनदूत राज बसु भन्छन्—संस्कार जोडिएपछि मन जोडिन्छ र मन जोडिएपछि व्यापार र समृद्धिको बाटो खुल्छ । त्यसैगरी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सम्भावना हुँदाहुँदै पनि व्यवस्थापन अभावले अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै अब सहकार्यलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले उत्सवमा सहभागी अतिथिहरुलाई स्वागत गर्दै कोशी प्रदेश घुम्न निम्तो दिए । कोशी पर्यटन वर्ष २०८२ का सदस्य राजन दंगालले कोशीका भर्जिन क्षेत्र घुम्न पश्चिम बंगालका पाहुनाहरुलाई आग्रह गरे ।
कार्यक्रम संयोजक इन्दिरा श्रेष्ठको अध्यक्षतामा उत्सव सुरु भएको हो । दुई दिनसम्म चल्ने यो महोत्सवले केवल उत्सवको रौनक मात्र होइन, नेपाल–बङ्गाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने आशा पनि बोकेको छ । दुई दिनसम्म चल्ने महोत्सवमा हस्तकला र घरेलु उत्पादन आकर्षकको केन्द्र बन्दै गएको छ ।




