
बिर्तामोड, चैत २८ । झापामा अधिकांश भेगमा अहिलो बिहान घाम लागे पनि चिसो छ । बिहानैदेखि चिसो हावा चलिरहेको छ । तर, कोशी प्रदेशका धेरैजसो भूभागमा हाल साधारणतया बादल लागेको छ ।
त्यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान छ ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही र कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यही प्रभावले गर्दा चैत महिनामा पनि चिसो महसुस भइरहेको छ । हिमाली क्षेत्रमा हिमपात रोकिएको छैन ।




