
बिर्तामोड, बैशाख ४ । झापाको शिवसताक्षीमा नवजात शिशुको हत्या आरोपमा एकजना बालिकालाई नियन्त्रणमा लिइएको छ । नवजात शिशुको शव पुलमुनि फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा स्थानीय एकजना १६ वर्षीया बालिका रहेकी छन् । घटनाका बारेमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सो नवजात शिशु उनले जन्माएर फालेको आशंका गरिएको छ । ती नवजात शिशु मृत नै जन्मिएको वा जन्मिएपछि हत्या गरेर फालेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बैशाख २ गते राति ११ः५० बजे शिवसताक्षी–३ भोटे पुलमुनि नवजात शिशुको (छोरा) शव फेला परेको थियो । सो शव पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।





