२०८३ बैशाख ९ बुधबार
Jhapa Today
Adv top

भद्रपुर र दमकबाट ब्राउन सुगरसहित दुईजना पक्राउ


बिर्तामोड, बैशाख ९ । प्रहरीले झापाको भद्रपुरबाट एकजना महिलालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । भारतबाट पाटाको सागमा ब्राउन सुगर लुकाएर ल्याउने महिला भद्रपुर नाकामा पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो दिउँसो ४ः३० बजे भद्रपुर-५ मेची पुलबाट भद्रपुर ६ कृष्णा कम्प्लेक्स सिनेमा हलनजिक बस्ने ५० वर्षीया खैरुन खातुनलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

पैदलयात्री खातुनमाथि शंका लागेर जाँच गर्दा उनले हातमा बोकेको कालो प्लाष्टिकको झोलामा पाटा सागको मुठाभित्र ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ३ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । खातुनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

त्यस्तै हिजो राति ८ः३० बजे दमक-८ किरात चोक बस्ने २२ वर्षीय एलिसराज खरेल ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले खरेलको घर खानतलासी गर्ने क्रममा उनी सुत्ने कोठाको खाटमुनि ५ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजुसमेत फेला परेको छ ।

Adv footer