२०८३ बैशाख ११ शुक्रबार
Jhapa Today
Adv top

आर्मी चन्द्रगढी महिला गोल्डकपको फाइनलमा


भद्रपुर, बैशाख ११ । त्रिभुवन आर्मी फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै आर्मीले कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस फुटबल क्लबलाई २–१ गोल अन्तरले हराएको छ । आर्मीले अब भोलि हुने चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३२ औँ मिनेटमा आर्मीले अग्रता लियो । पुलिसकी डिफेन्डर समीक्षा घिमिरेको गल्तीको फाइदा उठाउँदै आर्मीकी चन्द्रा भण्डारीले गोल गर्दै खेलमा अग्रता दिलाइन् ।

५६ औँ मिनेटमा जेनिफर राना मगरले आर्मीको अग्रता दोब्बर बनाइन् । हिमा चौधरीले गरेको कडा प्रहार पुलिसकी गोलकिपर सपना राईको हातबाट फुत्किँदा रानाले पाएको बललाई पोस्टको दिशा दिइन् ।

पुलिसले खेलको ७० औँ मिनेटमा एक गोल फर्कायो । पूजा रानाले डिबक्समा हेडमार्फत मिलाइदिएको पासलाई रेखा पौडेलले हेडमार्फत नै जाली चुमाउँदै गोल अन्तर कम गर्ने प्रयास गरिन् ।

आर्मीकी डिफेन्डर विमला विक, सुनिता चौधरी र अनिता लम्जेलसामु पुलिसका स्ट्राइकर चल्न नसक्दा गत वर्ष कात्तिकमा झापाको शिवसताक्षीमा सम्पन्न झापा महिला गोल्डकपको सेमिफाइनलमा व्यहोरेको हारको बदला आर्मीले झापामै लिएको छ ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीकी डिफेन्डर विमला विक भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि (शनिबार) चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच अन्तिम सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।

Adv footer